धादिङ १३ भदौ
सदरमुकाम धादिङबेशीमा विहिबारदेखी लाखे नाच सुरु हुनेभएको छ ।
बुधबार झिंगु नेवा समाज धादिङले पत्रकार सम्मेलन गरी जात्राको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
नेवार समुदायको संस्कृति, परम्परा र पहिचानलाई मध्यनजर गर्दै जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्राको अवसरमा भोलिदेखी परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिने झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभयो ।
लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । यस पर्वलाई जोगाई राख्न विगत वर्षहरुमा पञ्चेबाजा बजाएर मनाइने गरिएपनि हाल नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा गरिने महासचिव श्रेष्ठले बताउनुभयो ।
विहिबार विहान साढे सात बजे बिचबजार चोकस्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिने उहाँले जानकारी दिनुभयो ।
‘गाइजात्राको अवसरमा मृत्यु भएका १० जना नेवार समुदायका मृतकको फोटो सहित गाइ निकालिने र लाखे जात्रा गरिनेछ ।’ १५ गते खेत रोपाइ अभिनय गर्दै लाखेसहित बजार परिक्रमा, भदौ २१ गते श्री कृष्णको रथ यात्रासहित लाखे जात्रा, असोज १ गते हरितालिका तिजको अवसरमा विच बजारमा लाखे नाँच नचाइने र असोज २ गते लाखे जात्रा विधिवत रुपमा समापन गरी लाखे जात्रा मनाइने उहाँले जानकारी दिनुभयो ।
नेवार समुदायको जात्रा भएपनि जात्रामा सबैलाई उपस्थित भइदिन झिंगु नेवा समाज धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले आग्रह गर्नुभयो ।
यो जात्रा राष्ट्रिय जात्रा हो । कला, संस्कृति तथा परम्परा जोगाइराख्न मनाउने गरिएको जात्रामा सबै जातजाति, समुदाय यो जात्रामा उपस्थित भइदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
यस बर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व बिहीबारनै परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिले विज्ञप्ति निकालेर यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन परेको जनाएको हो । भोलि सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको छ।
धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस