धादिङ ०२ भाद्र
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दावी भुक्तानी गरिएको छ ।
शनिबार धादिङ जिल्ला शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि नीलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी मृतक श्री कृष्ण अधिकारीको पत्नी लक्ष्मी भट्ट लाई चेक हस्तान्तरण गरिएको हो ।
मृतक अधिकारी ४१ बर्षको उमेरमा साधारण बिरामी पश्चात मृत्यू भएको थियो । मृतकले ४ बर्ष अगाडि प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीमा बीमाङ्क रकम ६ लाख बराबरको बीमा गरिएको थियो । ४ किस्ता रकम उक्त बीमा कम्पनीमा बुझाईसकेको थियो ।
उक्त बीमा कम्पनी र महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनी बिच संयुक्त मर्जर भएको हुनाले संयुक्त रुपमा बीमाङ्क रकम ६ लाख र कम्पनीले दिने वोनस रकम ८२ हजार गरि ६ लाख ८२ हजार रकम मृतकले ईच्छाएको व्यक्ति पत्नी भट्ट लाई हस्तान्तरण गरिएको हो ।
बीमा कम्पनीहरुमा जीवन बीमा कम्पनी सामाजिक रुपमा प्रभावकारी बन्दै आएको हुनाले नागरिकले जीवन बीमा गर्नु आवश्यक रहेको प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाको प्रबन्धक विष्णु प्रसाद ढुङगानाले बताउनुभयो । उहाँले भन्नुभयो ः ‘शारिरमा शक्ति हुँदा कमाई गर्न सक्ने बेलामा बचत अथवा जीवन बीमा गर्नु नै पारिवारको भविष्य र आर्थिक स्रोतको आधार तयार गर्नु हो ’ । उहाँले धादिङमा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न घटनाका दावी भुक्तानीमा सहज र छिटो भुक्तानी गरिरहेको समेत बताउनुभयो ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष गौतमहरि अधिकारीले जीवन बीमा गर्नु भनेको आजको बचत भोलिको भविष्य रहेको बताउनुभयो । ‘हामीले वडा भित्रका सबै नागरिकलाई स्वास्थ्य बीमा नवीकरण गर्ने नयाँलाई स्वास्थ्य बीमा गराउन घर दैलो अभियान भाद्र २ गते देखि संचालन गर्ने छौँ र जीवन बीमा गर्न पनि संस्था नतोकीकन अनुरोध गर्ने छौँ ’ उहाँले भन्नुभयो । आफ्नो कार्यकालमा संबृद्ध वडा निर्माणको परिकल्पना सहित कार्य योजना अगाडि बढाई रहेको बताउनुभयो ।
त्यस्तै कर्णेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक विष्णुहरि अधिकारीले सामाजिक अर्थतन्त्रको आधार मानव जीवनको रक्षा नै जीवन बीमा र बचत गर्नु रहेको बताउनुभयो ।
त्यस्तै महालक्ष्मी बिकास बैङ्क नारायणघाट शाखा प्रमुख खिल प्रसाद सिलवालले उमेर क्षमताले भ्याए सम्म कमाउने,बचत गर्ने र पछि असक्त हुँदा सहाराका लागि जीवनबीमा गर्नुपर्ने बताउनुभयो ।–‘व्यक्तिगत जीवन र परिवारको रक्षा संरक्षणका लागि र भवितव्य घटनामा आर्थिक समस्या टार्नको लागि जीवन बीमा आवश्यक छ ’ उहाँले भन्नुभयो ।
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाको प्रबन्धक विष्णु प्रसाद ढुङगानाको अध्यक्षता नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गौतम हरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महालक्ष्मी वैङक नारायणघाट शाखाका प्रमुख खिल प्रसाद सिलवाल,कर्णेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक विष्णुहरि अधिकारी,शिक्षकहरु,इन्स्योरेन्स कम्पनीका एजेन्सि अफिसर,एजेन्सि म्यानेजर,पत्रकार लगायत वडाका नागरिकहरुको सहभागीता रहेको थियो ।
साथै कार्यक्रमको संचालक भने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स नारायणघाट शाखाको एजेन्सि म्यानेजर शालिग्राम पोख्रेलले गर्नुभएको थियो ।
देशभर विभिन्न जिल्लामा आफ्नो शाखाहरु बिस्तार गरि प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीले १५ वटा बीमा योजनाहरु मार्फत जीवनबीमा गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस