धादिङ १२ असोज
जिल्ला प्रशासन कार्यालय अगाडिको भवन एनजिओलाई व्यापारिक प्रयोजनको लागि सञ्चालन गर्न दिए पश्चात धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बिबादमा तानिएका छन् । केही दिन अगाडि मात्र मकवानपुरबाट धादिङ सरुवा भएका तामाङले नागरिक सहायता कक्षको नाममा महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङलाई सरकारी भवन प्रयोग गर्न अनुमति दिएका छन् । केही वर्ष अगाडि बाल कल्याण समितिको स्वामित्वमा रहेको उक्त भवन स्थानीय व्यवसायी लालकाजी श्रेष्ठले मासिक १ लाख २० हजार तिरेर फोटो स्टुडियो चलाउँदा बिबाद भए पश्चात खाली रहेको थियो । जिल्लास्थित कुनै पनि सरकारी संस्थासँग आवद्ध नभएको तथा दर्ता नभएको महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाललाई भाडा नलिइकन व्यवसायिक प्रयोजनका लागि दिनु कत्तिको न्याय सङ्गत छ ? भनेर व्यवसायीहरुले उल्टै प्रश्न गरेका छन् । नागरिक सहायता कक्षको नाममा मूल्य सूचि नै राखेर व्यवसाय गर्ने गरी दिइएको उक्त भवनको सर्वत्र विरोध भएको छ । व्यवसायीहरुसँग कुनै छलफल नै नगरी विना टेन्डर सरकारी कार्यालय एनजिओलाई दिदा तामाङ विवादमा मुछिएका हुन् ।
यता प्रमुख जिल्ला अधिकारी तामाङले उक्त संस्थालाई कुनै पनि ब्यावसायिक प्रयोजनको लागि नभई सेवाग्राहीहरु नठगिउन् भन्ने उद्देश्यले भवन सञ्चालन गर्न दिएको सहजै स्वीकार गरेका छन् । प्रमुख जिल्ला अधिकारी तामाङले यसो भनी रहँदा महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङले भने धमाधम सेवाग्राहीहरुसँग व्यवसायिक रुपमा रकम लिई रहेको पाइएको छ । उक्त भवनमा महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालले भने एम आरपी.फोटो, फारम, साधा फोटो, हुलाका टिकट, रेकड फाइलको मूल्य सूची नै टाँसी कामगर्दै आईरहेको छ ।
महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङकी गायत्री खतिवडाले भने यस व्यवसायबाट उठेको रकम लैङ्गिक हिंसा कार्यक्रममा लगानी गर्ने बताएकी छिन् । खतिवडाले यस प्रकृतिको कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले जनशक्तिको अभाव भएको बताएकाले आफ्नो संस्थाले सञ्चालन गरेको बताएकी छिन् । उक्त भवनको भाडा नतिरेता पनि नेट, बत्ती, पानी, र १ जना कर्मचारीलाई मासिक तलब भत्ता सञ्जालले नै ब्यहोर्ने बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस