धादिङ ३२ श्रावण
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकारमा गएपछि नागरिक र पार्टीबीचको सम्बन्ध टाँढिदै गएको बताउनुभएको छ ।
आज बिहीवार रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २० औँ दोरम्बा स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
प्रचण्डले देशमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि अझै धेरै काम गर्न बाँकी रहेको पनि बताउनुभयो । उहाँले आउँदो तीन महिनाभित्र नयाँ–नयाँ वातावरण बनाउने, अर्को तीन महिनामा पार्टीलाई जीवन्त रूप दिने र त्यसपछि पार्टीले २०६४ सालको चुनावको जस्तै परिणाम ल्याउन गाह्रो नहुने दाबी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले अहिले आफ्नो नेतृत्वको सरकार देशमा व्याप्त विकृति र विसङ्गति अन्त्य गर्न लागिपरेको बताउनुभयो । यो सरकार भ्रष्टाचारको अन्त्य गरी सुशासन र विकासका लागि अघि बढ्दै गरेकाले सत्ता गठबन्धमा कुनै पनि समस्या नदेखिएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीले अहिलेको सरकारले ठूला आयोजना निर्माणमा ध्यान केन्द्रित गरेर आफ्नो कार्यकालमा नागरिकको मन जित्ने किसिमले काम गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, यो पटक म जसरी भए पनि नागरिकको मन जित्ने गरी काम गर्छु । यो सरकारले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न लागिपरेको पनि उहाँको दाबी थियो ।
दोरम्बा स्मृति दिवस कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, माओवादीका सांसद जनार्दन शर्मा, बाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस