३१ श्रावन २०८०
सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटेको औपचारिक घोषणा गर्दैछ।
नेपाल प्रज्ञा भवन कमलादीमा बुधबार बिहान ११ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि कोषमा समेटिएको औपचारिक घोषणा गर्नेछन्।
वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका कारण आज त्यसको औपचारिक घोषणा गर्न लागिएको सामाजिक सुरक्षा कोषका सूचना अधिकारी उत्तमराज नेपालले जानकारी दिए।
अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते श्रम मन्त्रालयबाट कार्यविधि स्वीकृत भएको थियो। अनौपचारिक क्षेत्रका श्रमिक भन्नाले रोजगारदाता निश्चित नभएका कृषि क्षेत्र र निर्माण क्षेत्रलगायतका श्रमिक तथा मजदुरलाई बुझ्नुपर्ने कार्यविधिमा उल्लेख छ। यसअघि औपचारिक क्षेत्रका मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध भएका थिए।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई कोषमा समेट्न स्थानीय तहमार्फत् सम्झौता गर्ने व्यवस्था कार्यविधिमा छ।
कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गरिने छ।
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ।
सामाजिक सुरक्षा कोषमा हालसम्म १८ हजार १५९ रोजगारदाता सुचिकृत हुँदा सात लाख १३ हजार १९३ योगदानकर्ता समावेश भएका छन्।
प्रतिक्रिया दिनुहोस