धादिङ १२ असोज
हाम्रो प्रण स्वस्थ मुटु भन्ने मूल नाराका साथ विश्व मुटु दिवस धादिङमा पनि मनाइएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङको आयोजना, गजुरी गाउँ पालिकाको विशेष सहयोग र गजुरी प्राथमिक स्वास्थ केन्द्रको प्राबिधिक सहयोगमा आइतबार गजुरी बजारमा प्रभात फेरी तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखाका सभापति कष्णलाल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा गजुरी गाउँ पालिकाका निमित्त प्रशासकीय अधिकृत भिमसेन विष्ट, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका निमित्त सभापति नारायण तिमल्सिना, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, पूर्व अध्यक्ष चन्द्रकान्त अधिकारी लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव राजकुमार श्रेष्ठले गर्नुभएको थियो । प्रभातफेरी पश्चात भएको अन्तरकृया कार्यक्रममा डा. रामहरि रेग्मीले मुटु रोगका बारेमा जानकारी गराउँदै जन्मजात र जन्मपश्चात गरी २ किसिमको मुटु रोग लाग्ने बताउनु भयो ।
गर्भावस्थाका आमाहरुलाई रुबेला नामक दादुरा आएमा, औषधी सेवन गरेमा, गर्भवती महिलाको शरीरमा एक्सरेको विकिरण परेमा, धुम्रपान, मध्यपान गरेमा, ४० वर्षको आसपासमा पहिलो सन्तान जन्माएमा, मधुमेह भएमा, हार्ड नातामा विवाह गरेमा जन्मजात मुटु रोग लाग्ने गर्दछन् भने उच्च रक्तचाप, बाथ, धुम्रपान मध्यपानको प्रयोग, नुनको अधिक प्रयोग, चिल्लो पर्दाथ र मासुजन्य पदार्थको प्रयोग, नियमित शारीरिक व्यायामको कमिका कारण जन्म पश्चात मुटु रोगहरु लाग्ने गर्दछन् । कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका गजुरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भिमसेन विष्टले कार्यक्रमबाट मुटु रोग सम्बन्धी जानकारी आफुहरुले पाएको र सबै मानिसहरुलाई जानकारी गराउन पाए मात्र यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताउनुभएको छ । साथै आफ्ना नजिकको विद्यालयमा यस्ता खालका कार्यक्रम संचालन गरेमा मुटु रोगबारे सबै सचेत हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस