धादिङ २९ श्रावण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताउनुभएको छ ।
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताउनुभएको हो ।
यही साउन ३ गते सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ । प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीयबासीले मुआब्जा लगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरुलाई समेत विश्वासमा लिएर अगाडि बढाउने विश्वास दिलाउने काम भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
यस्तै, गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ रहेको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ले त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुङ्गे पुलको पुनर्निर्माणसमेत तत्काल सुरु गर्ने बताउनुभएको थियो ।
गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल त्रिशुलीको बाढीले क्षति पु¥याएको छ । सो अवसरमा अन्य विकास निर्माण लगायतका विषयमा समेत प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस