२४ श्रावन २०८०
आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नयाँ संविधान जारी भएसँगै जनजातिका माग, मुद्दा ‘पूरा भएको’ जस्तो स्थिति छ ।
आदिवासी दिवसलाई लिएर किन घट्यो त उत्साह ? जनजाति अगुवाहरु नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वले व्यक्तिगत लाभका निम्ति राजनीतिक दलप्रति समर्पित भएकै परिणामस्वरुप आदिवासी दिवसप्रति चासो र उत्साह घटेको ठान्छन् । जनजाति अगुवा तथा महासंघका पूर्वमहासचिव प्राध्यापक डा. ओम गुरुङले आदिवासी दिवस मनाउन थालेपछि नेपालमा जनजातिका मुद्दा भने दरिलो बनेको बताए ।
‘आदिवासी आन्दोलनको मुख्य सार भनेको धर्मनिरपेक्षता, पहिचान, समानुपातिक समावेशीकरण, आरक्षण प्रमुख हुन्, ती उपलब्धिको उपभोग गर्न नपाउँदै फेरि रक्षा गर्न उत्रिनुपर्ने परिस्थति सिर्जना भएको छ । त्यसमाथि महासंघको नेतृत्वमा राजनीति हाबी भयो । त्यसका कारण पनि आदिवासी दिवसलाई लिएर उत्साह नदेखिएका हो,’ गुरुङले भने ।
संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो ।
सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो ।
कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो, जुन २७ औं वर्ष पुगेको छ । नेपालका आदिवासी जनजातिले समेत १९९५ देखि यो दिवस मनाउँदै आएका छन् । राष्ट्रसंघले सन् २०२१ का निम्ति ‘नयाँ सामाजिक सम्झौताको खोजी, कोही पनि नछुटुन् आदिवासी जनजाति’ नारा तय गरेको छ ।
‘आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवा’ नाराका साथ आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।
उक्त दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई बंगलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पनि आज बिभिन्न कार्यक्रमको आयोजना गरेको छ।
प्रतिक्रिया दिनुहोस