धादिङ असोज ११
रेबिज रोगका कारण विश्वमा हरेक १० मिनेटमा १ जनाको मृत्यु हुने तथा नेपालमा हरेक वर्ष रेविजका १०० जना बिरामी देखिने एक अध्ययनले बताएको छ । इशा पूर्व ३००० भन्दा पहिलाबाट नै देखा परेको यो रोग कुकुर, स्याल, चमेरो, व्वाँसो, उल्लु लगायतका जनावरहरुले टोक्दा मानिसमा सर्दछ । इ.सं. १८९० देखि एन्टि रेबिज भ्याक्सिनको आविष्कार भएको यो रोगका कारण विश्वमा प्रतिवर्ष ६० हजार व्यक्तिको मृत्यु हुने गरेको छ भने १ करोड ७० लाख जनावरले मानिसहरुलाई टोक्ने गरेको तथ्याङ्कले देखाएको छ । रेबिजका कारण विश्वको ५० प्रतिशत मृत्यु एसिया महादेशमा हुने गरेकाले एसिया महादेश रेबिजको जोखिममा रहेको क्षेत्र हो । नेपालको सन्दर्भमा हेर्दा गत साल २८ जना मानिसको रेबिजका कारण मृत्यु भएको देखिन्छ ।
नेपालको तराईका २० जिल्ला रेबिजको उच्च जोखिममा रहेका जिल्लाहरु हुन् । रोग लागिसकेपछि कुनै पनि उपचार गर्न नसकिने यो रोगको समयमै उपचार गर्न सके सत प्रतिशत रोकथाम गर्न सकिने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सम्भू प्रसाद ज्ञवालीले बताउनु भयो । नेपाल सरकारले रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क गरेकाले जनावरहरुले टोक्ने बितिक्कै स्वास्थ्य संस्थामा जानु पर्ने बताउदै डा. ज्ञवालीले ९९ प्रतिशत रेबिज रोग कुकुरबाट सर्ने गरेकाले कुकुर लगायतका जनावरको टोकाइबाट बच्नु र यदि टोकी हालेमा तत्कालै स्वास्थ्य संस्थामा जानु नै यस रोगको रोकथाम पद्धति भएको बताउनु भयो । टाउको दुख्ने, ज्वरो आउने, टोकेको ठाउँमा झमझमाउने, पानी प्रकाश र हावादेखि डराउने, रिसाउने, झर्कीने जस्ता मानसिक समस्याहरु समेत देखिने यो रोगको रोकथाम र उन्मूलनका लागि अभिमूखीकरण, सूचना प्रवाह, रेबिज विरुद्धको खोप लगाउने तथा साबधानी अपनाउने रहेका छन् । २०३० सम्ममा विश्वबाटै रेबिज रोग उन्मूलन गरिने लक्ष्य अनुसार विश्व स्वास्थ्य सङ्गठन लागि परेको छ ।
खोप लगाऔँ, रेबिज उन्मूलन गरौँ भन्ने मूल नाराका साथ शनिबार स्वास्थ्य कार्यालय धादिङमा प्रदेश नं. ३ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाको आयोजनामा विश्व रेविज दिवस २०७६ को अवसरमा विचार गोष्ठीको आयोजना गरिएको हो । सामाजिक विकास मन्त्रालय प्रदेश ३ स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक रमेश कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. सम्भु प्रसाद ज्ञवाली, वरिष्ठ स्वास्थ्य प्रशासक अर्जुन प्रसाद सापकोटा, वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेल लगायत स्वास्थ्यकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकै अवसरमा हाल महामारीका रुपमा रहेको स्क्रब टाइफस रोग धादिङमा उच्च रहेको बताइएको छ । मुसामा पाइने किर्नाबाट सर्ने यो रोग धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १२ मा धेरै मात्रामा देखा परेको पाइएको छ । धादिङको नीलकण्ठ नगरपालिका, शिद्धालेक गाउँ पालिका र नेत्रावती गाउँ पालिकामा बढि मात्रामा देखा परेको हो ।
प्रतिक्रिया दिनुहोस