धादिङ ८ साउन
आर्थिक वर्ष २०७९-०८० मा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् ।
तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच जना र हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाएकाको परिवारहरुलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणबाट ३१ जना गम्भीर र २७ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ रुपैयाँ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई चार लाख २७ हजार एक सय २८ रुपैयाँ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएका निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो ।
यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ वटा पशुधनको क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप ३१ लाख ३८ हजार चार सय रुपैयाँ प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत ५१ हजार रुपैयाँ राहत रकम भुक्तानी गरिएको छ । यस्तै २७ वटा घरगोठमा जनावरले क्षति पुर्याएका छन् । जसको क्षतिबापत दुई लाख ३४ हजार नौ सय रुपैयाँ भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले ३९ लाख ५८ हजार छ सय २५ रुपैयाँ भुक्तानी गरेको छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गएको आवमा निकुञ्जका जनावर कारण आठ सय ५६ वटा घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले दुई करोड ३० लाख ९० हजार ६९ रुपैयाँ राहत रकम स्थानीयलाई बुझाएको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस