धादिङ १० असोज
केही दिनदेखि पृथ्वी राजमार्गमा बढ्दै गएको अत्याधिक जामका कारण बाटोमै बिरामीको मृत्यु भएको छ । रौतहटको गरुडाबाट ना. ७ ख ५३६४ नम्बरको रात्री बसमा काठमाडौँ उपचारका लागि हिडेका ३५ वर्षीय रुपलाल शाहको बसमै मृत्यु भएको हो । शाहको बिहिबार राती धादिङको महादेबबेसीमा यात्राकै क्रममा मृत्यु भएको हो । दुबै मृगौला फेल भई उपचारका लागि रौतहटबाट काठमाडौं हिडेका शाहको नौबिसे नागढुङ्गाको जाममा परी बस भित्रै मृत्यु भएकोे महादेवबेसी प्रहरी चौकीले जनाएको छ ।
जीएमआर ठेकेदार कम्पनीले विजयदशमीको समयमा सडक मर्मत कार्य शुरु गर्दा यात्रु तथा विरामीहरुले यस्तो समस्या भोग्नु परेको स्थानियहरुले गुनासो गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले राती ९ बजेपछि मात्र मालबाहक ट्रक तथा ठुला सवारी साधनहरु खानीखोलाबाट काठमाडौँ पास गरिने र काठमाडौंबाट पनि यात्रुबाहक बसहरुलाई मात्र प्राथमिकता दिएर खाली ट्रक तथा कन्टेनरहरुलाई नियन्त्रण गरिने भएकाले छिट्टै नै सवारी जामलाई व्यवस्थित गरिने बताएका छन् । काठमाडौँको कलङ्कीदेखि सुरु भएको जाम शुक्रबार बिहानसम्म धादिङको गल्छी सम्म आइ पुगेको छ । अहिले सडक पिच गर्ने कार्य रोकिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस