धादिङ्ग ३ श्रावण
गोरखाको गण्डकी गाउँपालिका स्थित् सिउरेनीटारमा बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरिएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको हो । प्रचण्डले यसअघी बुढी गण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ रहेको सिउरेनीटारस्थित् कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बुढी गण्डकी जलविद्युत् कम्पनी स्थापना गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनाको काम तीव्र रुपमा अघि बढ्ने बताउनुभएको छ । बुधबार गोरखाको सिउरेनीटारमा बुढीगण्डकी आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्रीले दाहालले आयोजना निर्माणमा ढिलाइ गर्ने छुट आफूलाई नभएको भन्दै अब आयोजनाको काम तीव्र रुपमा अघि बढ्ने बताउनुभएको हो ।
गोरखाको गण्डकी गाउँपालिका – ८ सिउरेनीटारमा आजै प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको पनि शुभारम्भ गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड लगायतका उच्च अधिकारीहरुले हेलिकप्टर मार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको पनि अवलोकन गरेका थिए ।
प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, धादिङ र गोरखाका सङ्घीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत सम्लग्न थिए ।
सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको जनाएको छ । घर गोठ,बोटबिरुवा तर्फ ६ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको कम्पनिका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिनुभयो ।
हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको श्रेष्ठको दावी छ ।
प्रतिक्रिया दिनुहोस