धादिङ २९ असार
धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु बजार स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औँ वार्षिक उत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा सञ्चालन भएको रक्तदान कार्यक्रममा १ सय १५ जनाले रक्तदान गराएको छ ।
रक्तदान गर्नेहरुमा २८ जना महिला ८७ जना पुरुष गरी ११५ जनाले रक्तदान गराएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङले जानकारी दिनुभयो ।
‘रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिदै आएको संस्थाका अध्यक्ष गिरीराज कँडेलले बताउनुभयो ।
उहाँले मानव स्वास्थ्य सेवाको अवस्थालाई मध्यनजर गरी संस्थाका सेयर सदस्यहरुलाई स्वास्थ्य उपचारको लागि वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु बजारमा रहेको राजमार्ग सामूदायिक अस्पतालमा निशुल्क उपचार सेवा रहेको पनि जानकारी दिनुभयो ।
जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले विभिन्न मेला,महोत्सव,सहकारीको वार्षिक साधारणसभा,स्थापना दिवस,विद्यालयको बार्षिक उत्सव लगायतका कार्यक्रमहरुमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस