धादिङ ०५ असोज
शङ्खादेवी माध्यमिक विद्यालय नीलकण्ठ १ पात्लेमा विगत ३ वर्ष देखि सञ्चालित महिला शिक्षकको दक्षता विकास कार्यक्रम शनिबार सम्पन्न भएको छ । जापानी संस्था जाईका र जेनेफाको सहयोग तथा युक्याप नेपालको समन्वयमा शङ्खादेवी माध्यमिक विद्यालय नीलकण्ठ १ पात्लेलाई केन्द्रबिन्दु मानेर नीलकण्ठ नरपालिका वडा नं. १ र ५ का प्राथमिक तहका महिला शिक्षकहरुलाई उक्त तालिमकको आयोजना गरिएको हो । तालिमका क्रममा शिक्षकहरुलाई विद्यार्थीहरुलाई कठिन विषयहरु पनि कसरी सजिलै सिकाउन सकिन्छ ? त्यो सिकाइलाई कसरी दिगो र जीवनोपयोगी बनाउन सकिन्छ ? खेल, मनोरञ्जन, गीत, कथा आदिका माध्यमहरुबाट विद्यार्थीलाई रुचीपूर्ण तरिकाले कसरी शिक्षण गराउने जस्ता विषयहरुमा प्रशिक्षण दिइएको हो ।
समापन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले बालमैत्री शिक्षण सिकाईले मात्र विद्यार्थीहरुले दीर्घकालीन शिक्षा हाँसिल गर्न सकिने बताउनु भयो । उहाँले लठ्ठीका भरमा कण्ठ पार्ने संस्कारबाट विकास भएको नेपालको शिक्षण पद्धतीलाई यस्ता खाले तालिमहरुले माया र स्नेहबाट मात्र विद्यार्थीहरुले दीर्घकालीन ज्ञान हासिल गर्न सक्छन् भन्ने यथार्थता प्रस्तुत गर्ने बताउनु भयो ।
यस्तै शङ्खादेवी माध्यमिक विद्यालय नीलकण्ठ १ पात्लेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर गुरुङले अप्ठ्यारो विषयहरु पनि शिक्षकहरुले रमाइलो तरिकाले सिकाउन सक्यो भने विद्यार्थीहरुले सहजै बुझ्ने बताउनु भयो । विशेष गरी यस विद्यालयका महिला शिक्षकहरुको उत्साहका कारण शैक्षिक सुधारमा थप सहयोग पुगेको समेत बताउनु भयो ।
जेनेफाले २०१६ साल अक्टोबर देखि ३ बर्षको अवधिमा जाइकाको ग्रासरुट प्राविधिक सहयोग परियोजना अन्तरगत शिक्षिका उत्पादन प्रणाली स्थापना गर्ने उद्धेश्य लिएर स्थापना गरेको परियोजना मार्फत कपिलवस्तु जिल्लामा र धादिङ जिल्लामा छात्रावासबाट दिक्षित शिक्षिकाहरुले पढाउने विद्यालयमा स्थानीय स्तरको विद्यालय र नगर वा गाउँपालिकाका शिक्षासँग सम्बन्धी ब्यक्तिहरुलाई काम गर्ने उद्देश्य लिएर काम गर्दै आई रहेको छ ।
कक्षा नर्सरीदेखि १० कक्षासम्म अङ्गे्रजी माध्यमबाट पढाई हुने धादिङ जिल्लाकै उत्कृष्ठ सामुदायिक विद्यालय शङ्खादेवी माध्यमिक विद्यालयमा नीजि विद्यालयहरुमा जस्तै पाठ्यक्रम परीक्षण प्रणालीको विकास गरी नयाँ ढङ्गले अगाडि बढेको छ । समापन कार्यक्रममा जाइका, जेनेफाका जापानी प्रतिनिधिहरु, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य, युक्याप नेपालका अध्यक्ष कृष्ण खतिवडा, नीलकण्ठ नगरपालिका वडा नं. १ का अध्यक्ष गणेश गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक कल्पना दुवाडी तथा छिमेकी विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस