धादिङ ०३ असोज
धादिङ जिल्लाका सबै सहकारीहरुको उचित व्यबस्थापन गर्न सके मात्र सहकारीहरुको एजेण्डा पुरा गर्न सकिने नेपाल केन्द्रीय बचत तथा ऋण सहकारीका महासचिव चन्द्र ढकालले बताउनु भएको छ । नीलकण्ठ महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको २० औँ वार्षिक साधारण सभामा शुक्रबार धादिङबेसीमा आई पुग्नु भएका ढकालले सो कुरा बताउनु भएको हो । उहाँले धादिङ जिल्लाका सबै सहकारीहरु बीच हातेमालो गरी अगाडि बढ्न सके मात्र जिल्लाकै उत्कृष्ठ सहकारीको रुपमा स्थापित गराउन सकिने बताउनु भयो । नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लि. महिलाहरुसँग निस्कृय रुपमा छरिएर रहेको पूंँजीको संकलन गरी उनीहरुकै आर्थिक, सामाजिक विकास गर्नको लागि ६० जना दिदी बहिनीहरुको ८० हजार कुल पूँजी लिई मिति २०५६ साल फागुन ५ गते तनहुँको दमौलीमा दर्ता भई संचालनममा आएको वित्तिय संस्था हो । हाल नीलकण्ठ नगरपालिका , सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको सहकारीले आर्थिक बर्ष २०७५/०७६ सम्ममा कुल शेयर सदस्य २ हजार ५ सय ४६ तथा बाल सदस्य ८ सय ७ जना, ऐच्छिक बचत कर्ता २ सय २१ जना र आवधिक बचत कर्ता १० जना रहेको छ । यस संस्थाको कुल पुँजी १२ करोड ४९ लाख २१ हजार ६ सय १२ छ भने शेयर पुँजी १ करोड ९ लाख १६ हजार ३ सय रहेको छ ।
नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लि. धादिङकी अध्यक्ष पार्वती अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल केन्द्रीय बचत तथा ऋण सहकारीका महासचिव चन्द्र ढकालको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीको बार्षिक साधारण सभाको अबसरमा जेष्ठ सदस्य नीलकण्ठ ७ की जीत कुमारी बुढाथोकीलाई प्रमाणद्धारा सम्मान गरिएको थियो । यसै गरी सामुदायिक विद्यालयबाट एस.ई.ई परीक्षामा उत्कृठ नतिजा ल्याउने सेयर सदस्यका छोरा,छोरीहरुलाई पनि सम्मान गरिएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैक लि. का अधिकृत नबकुमार अधिकारी, धादिङ जिल्ला सहकारी संघका अध्यक्ष नेत्रराज पौडेल, सहकारी संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । सहकारी राष्ट्रको स्वाभिमान नियमित वचत नीलकण्ठ महिला सहकारीको अभियान भन्ने मुल नाराका साथ आयोजित २० औँ साधारण सभाको अवसरमा खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा ६० जना महिला र २५ जना पुरुष गरी ८५ जनाले रक्तदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस