धादिङ १६ असार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्य नरोकिने बताउनुभएको छ । शनिबार पोखरामा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले कुनै पनि प्रभाव र दबाबमा भ्रष्टाचारविरुद्धका अनुसन्धान र कारबाही नरोकिने बताउदै नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण, यसमा सरकार दृढताका साथ अगाडि बढेको बताउनुभयो ।
भ्रष्टाचार देशको विकराल समस्या बन्दै गएकोले यसलाई हटाउन आफूले निकै मेहेनत गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । अनुसन्धानमा प्रहरीलाई निष्पक्ष ढङ्गले काम गर्न दिइएको र आवश्यक सहजीकरण भइरहेको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले धराशायी हुने चिन्ताबाट अर्थतन्त्र लयमा फर्किएको बताउनुभयो ।
आफ्नो भारत भ्रमण निकै सफल भएको दाबी गर्दै प्रचण्डले छिटै चीन भ्रमण पनि हुने र त्यसको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै यो गठबन्धनलाई कसैले तोड्न नसक्ने दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस