९ असार २०८०
भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज शनिबार आफ्नो दोस्रो खेल खेल्दै छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले दोस्रो खेलमा आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो ।
समूह ’ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन ।
भारत ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्न चाहन्छ ।
नेपालले हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।
प्रतिक्रिया दिनुहोस