धादिङ ०३ असार
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ धौखोला दोभानटारबाट बन्दुक सहित ४ जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दोभानटार स्थित रामकृष्ण श्रेष्ठको घरमा गंगा गुरुङले सञ्चालन गरेको खाजा पसलमा जंगली मृग मारी काटी हतियार सहित खाजा खाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट अधिकृत सहित खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ६० को पदम सिलवाल,सोही वडा बस्ने बर्ष ३० को राजेन्द्र शाक्य,बर्ष २८ को आशिष गुरुङ,र वडा नम्बर ६ निवासी वर्ष १९ को सुमन गुरुङलाई आईतबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो ।
उनीहरुको साथबाट लोड गरेको भरुवा बन्दुक ३ थान,धारिलो हतियार खुकुरी १ थान र छाला सहितको आलो मासु १ केजी ९ सय २५ ग्राम बरामत गरिएको हो । पक्राउ पर्नेहरु मध्ये सुमन गुरुङ यसअघि २०७८ सालमा हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्धामा पक्राउ थियो ।
पक्राउ परेका अभियुक्तलाई हातहतियार तथा खरखजना मुद्धमा ७ दिनको म्याद थप गरि जिल्ला अदालत र वन कार्यालय धादिङबाट अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस