धादिङ ०३ असोज
वैदेशिक रोजगारी सम्बन्धी सम्झौतालाई नेपाल सरकारले नयाँ ढंगबाट अगाडि बढाएको संघीय सांसद खेम प्रसाद लोहनीले बताउनु भएको छ । जिल्ला स्तरीय मूल समारोह समिति धादिङले शुक्रबार धादिङबेसीमा आयोजना गरेको संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को प्रभातफेरी कार्यक्रममा लोहनीले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभाका सांसद डा.राम कुमार अधिकारीले देशमा अब कहिल्यै अशान्ति नहुने बताउनु भयो । २०७२ सालमा बनेको संविधानले विधिको शासनलाई सहजै रुपमा स्वीकार गरेकाले संविधान कार्यान्वयन गर्न नेपाली जनताहरु सडक आन्दोलन गर्न नपर्ने र समय आएपछि सरकारले आफै कार्यान्वयन गर्ने बताउनु भयो ।
यस्तै नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारीले नेकपाको सरकारले नै नेपालको संविधानलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो । १० बर्षे जनयुद्ध र ०६२/०६३ को जनआन्दोलनको जगमा बनेको संविधानलाई सबै पार्टीहरु मिली कार्यान्वयन प्रक्रियामा अगाडि बढ्नु पर्ने समेत बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले संविधान मुलुकको कानून मात्र नभई साशकहरुको शतिm भएको बताउनु भयो । कार्यक्रमकै अवसर पारी नेपालको संविधान २०७२ शीर्षकमा बिहिबार धादिङबेसीमा भएको वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालकोे अध्यक्षता रहेको कार्यक्रममा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सभाका सांसद डा. राम कुमार अधिकारी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ , नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , विभिन्न विद्यालयका विद्याथीहरुको सहभागिता रहेको थियो । बिहान ७ बजे पुछार बजारबाट प्रभातफेरीको आयोजना गरी जिल्ला समन्वय समिति धादिङको प्राङ्गणमा गरी सभामा परिणत भएको हो ।
प्रतिक्रिया दिनुहोस