३१ जेठ २०८०
जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानीको अनलाइन फाराम नभरी सिधै लाइभ इनरोलमेन्टको व्यवस्था गरिएको छ ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै विद्युतिय राहदानीको फारम भर्ने कार्यमा सेवाग्राहीहरुको सहजताका लागि आगामी असार ३ गते आईतबारदेखि कार्यालयबाटै निशुल्क राहदानीको लाइभ इनरोलमेन्ट गरी सोहीदिन बायोमेट्रिक विवरण संकलन गरिने जनाएको छ ।
असार ३ गते आईतबारदेखि बिहीबारसम्म बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म दिनमा ७० जना सेवाग्राहीको दरले र शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म ५५ जनाको दरले कार्यालयमा पहिला आउने सेवाग्राहीलाई पहिले सेवा दिइने गरी व्यवस्थापन गरिएको सूचनामा भनिएको छ ।
साथै राहदानी बनाउन आउँदा गरगहनाहरु नलगाई तथा श्रृङगार नगरी आउन पनि सूचनामार्फत अनुरोध गरिएको छ । प्रशासनले नै निःशुल्क फारम भर्ने व्यवस्था गरेपछी सेवाग्राहीलाई केही राहत मिल्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस