धादिङ २८ ज्येष्ठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले बाल भेला सम्पन्न गरेको छ । बाल भेलाले १९ सदस्यीय गाउँ पालिका स्तरीय बालक्लब संञ्जाल गठन तथा बालबालिकाहरुको क्षेत्रमा गाउँपालिकाबाट गरिनुपर्ने १६ वटा बुँदामा प्राथमिकता तय गर्दै २ दिने भेला शनिबार सम्पन्न भएको हो ।
नेपालले बालबालिकाको सहभागीताको अधिकारलाई मौलिक हकको रुपमा आत्मसात् गरेको छ । त्यसैगरी नेपाल सरकारले अनुमोदन गरेको बालअधिकार महासन्धिका धाराहरू र सिद्धान्तले पनि बालबालिकाको सहभागीतालाई राज्यले सुनिश्चित गर्नु पर्ने उल्लेख गरेको छ भने बालबालिका सम्बन्धी राष्ट्रिय नीति, किशोर किशोरी सम्बन्धी कार्ययोजना लगायतका विविध दस्तावेजहरूले समेत बालबालिका सम्बन्धी कुनैपनि योजना, छलफल तथा निर्णय गर्दा अनिवार्य बालबालिकाको विचारको सुनुवाई हुनुपर्ने कुरा उल्लेख गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्थानीय सरकारले बालअधिकार सुनिश्चित गर्नका निम्ति स्थानीय सरकारले स्थानीय तहको योजना तर्जुमा गर्दा बालक्लव र बालबालिकाको सहभागीता सुनिश्चित गर्नुपर्ने कुराको उल्लेख भए बमोजिम बाल भेला गरिएको महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मिना देवकोटाले बताउनु भयो ।
वडा, गाउँपालिकामा अब बन्ने वार्षिक योजना तर्जुमाका चरणहरूमा बालबालिकाको सहभागीता अनिवार्य गरिने गाउँपालिका अध्यक्ष राज उप्रेतीले बताउनु भयो । बालमैत्री स्थानीय शासनको सूचक नं ४१. स्थानीय तहको योजना तर्जुमा पूर्व वार्षिक रूपमा वडा र गाउँपालिका तहमा बालभेला आयोजना गरी बालभेलाले प्राथमिकता तोकेका विषयलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समावेश गरिनु पर्ने व्यवस्था अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाले बालभेलाको महत्व बालबालिका एक ठाउँमा जम्मा भई उनीहरूको समस्या, आवश्यकता र चाहनाहरूका बारेमा विचार राख्ने अवसर सृजना गरेको उपाध्यक्ष देवराज धरेलले बताउनुभयो ।
बालबालिकाहरुको भेला भई आफ्ना वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न ,तय गरिएका आवश्यकता र प्राथमिकताहरूलाई स्थानीय योजना तर्जुमा र बजेट विनियोजन सम्बन्धी निर्णय गर्ने संरचना र पदाधिकारी समक्ष राखी बालबालिकाको सर्वोत्तम हित हुनेगरी कार्य गर्ने अवसर सृजना गर्ने भएकोले पनि गाउँपालिकाले बाल भेला आयोजना गरेको गाउँपालिका प्रबक्ता कुश बहादुर सिटौलाको भनाइ रहेको छ ।
बालभेलाले पारित गरेको १६ बुँदे प्राथमिकता सहितको ध्यानाकर्षण पत्र गाउँपालिका उपाध्यक्षलाई हस्तान्तरण गरेका छन् । यसैगरी बाल भेलाले १९ सदस्यीय गाउँ बाल क्लब संजाल गठन गरेको छ । भिमोदय माध्यमिक विद्यालयकी छात्रा अनु रुवालीको अध्यक्षतामा गठन भएको बाल क्लब संजालमा ८ जना पदाधिकारी र ११ जना सदस्य रहेका छन् । बालक्लब संजालको अन्य छात्रा उपाध्यक्षमा अचने मावि का निर्मला थापा जनजाति उपाध्यक्षमा जनज्योति माविका राम कुमार दरै मा.वि , छात्र उपाध्यक्षमा रानीपौवा माविका समिर गिरी ,सचिवमा कार्कीगाउँ मावि का बिबेक बञ्जरा, छात्रा सहसचिवमा त्रिपुरासुन्दरी माबिका रेबिका बयलकोटी छात्र सहसचिवमा कमलादेवी आवि का जेनिस परियार , कोषाध्यक्षमा महेन्द्रोदय मा.वि का छात्रा कुशमा थापा रहेका छन् ।
यसैगरी सदस्यहरु रानिपौवा माविका प्रकृति श्रेष्ठ,चुलिदेवी माविका सरुना गुरुङ , महेन्द्रोदय माविका सोनु दर्नाल , कार्कीगाउँ, माविका युना मास्की , सल्यानकोट माविका शंकर बोहरा, भिमोदय माविका रोजिना श्रेष्ठ , जनज्योति आविका कृपा राना, महेन्द्रोदय माविका आयुष थापा , कमलादेवी माविका प्रयास रेग्मी,अचने माविका आयुष अधिकारी, सल्यानकोट माविका पुष्पा कुँवर रहेका छन् ।
शुक्रबार शुरु भएको बालभेला चुलिदेवी माविका छात्रा सरुना गरुङको अध्यक्षता भिमोदय माविका छात्रा रोजिना श्रेष्ठले संचालन गर्नु भएको बालभेलामा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीको प्रमुख आथिथ्यता रहेको थियो । बालभेला कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद पराजुली , वडाध्यक्षहरु भीम प्रसाद भट्ट ,कमल बहादुर थापा, कपिलदेव सिम्खडा, कुश बहादुर सिम्खडा, हरि बहादुर बिक लगायत विभिन्न बिद्यालयका बालक्लबका सहयोगी शिक्षकहरुको सहभागी रहेको थियो ।
विद्यालय,वडा स्तरीय बालक्लब हुँदै छनौट भई आएका ४५ जना बालबालिकाहरुको सहभगीता रहेको २ दिने बालभेलाको बाल अधिकार अभियान्ता दामोदर अर्यालले सहजिकरण गर्नु भएको सल्यानटारबाट मिना देवकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस