२६ जेष्ठ २०८०
गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा नामकरणको विषयमा आन्दोलनरत पहिचानवादीहरूलाई संघीयतालाई कमजोर पार्ने र संघीयता नचाहनेहरूलाई फाइदा हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राजनीतिक मुद्दालाई संविधान, कानूनको क्षेत्राधिकारभित्र रहेर राजनीतिक ढंगबाटै समाधानको बाटो खोज्न आग्रह गरे ।
कोशी प्रदेश नामकरणको विषयमा बिहीबार प्रदेशसभाका उपसभामुख र मन्त्रीहरू चढेका गाडीमाथि नै आक्रमण भइरहेको विषयमा नेकपा एमालेका सांसदहरूले प्रश्न उठाएपछि त्यसबारे जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले सरकारले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने र समाजमा उदण्ड मच्चाउने सबैलाई कानुनी दायरामा ल्याउने बताए ।
उनले सरकारले उपसभामुख, मन्त्री वा सांसदहरूलाई मात्रै नभएर सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रयासरत रहेको बताए ।
‘हामी लोकतान्त्रिक राज्यको अभ्यास गरिरहेका छौँ । लोकतन्त्रमा सबैलाई दृष्टिकोण राख्ने, गतिविधि गर्ने स्वतन्त्रता छ, तर त्यो संविधान, लोकतन्त्र र तिनले प्रत्याभूत गरेको विधिअनुरूप हुनुपर्छ । अन्यथा त्यसको रक्षा गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘कोशी प्रदेशमा आन्दोलनरत पहिचानवादी साथीहरूलाई मेरो आग्रह छ, तपाईंहरूले ठीक ढंगले विषयवस्तुलाई पक्रन नसक्दा कतै संघीयतालाई नै नचाहनेहरूलाई बल नपुगोस् ।’
उनले बिहीबार इलाम र उदयपुरमा भएका घटनामा दुःख व्यक्त गर्दै त्यहाँ प्रहरीले सुरक्षा प्रबन्ध गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘संविधान, कानुनलाई आफ्नो हातमा लिने, अराजक र उदण्ड गतिविधि गर्ने, अरुको जीउज्यान थ्रेट गर्ने कुनै पनि गतिविधिलाई सरकारले माफी दिन सक्दैन । यसमा कुनै पनि ढंगले यताउता गरेर हुन्छ कि भनेर सोच्नु ठीक छैन,’ उनले भने ।
उनले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टिलाई राजनीतिक ढंगबाटै समाधान गर्नसमेत सबैलाई आग्रह गरेका छन् । ‘नामकरणको विषयमा असन्तुष्ट पक्षले प्रदेशका मन्त्रालय घेराउ गर्ने, प्रदेशसभा घेराउ गर्ने जस्ता गतिविधि गरिरहेको जानकारीमा आएको छ । त्यहाँ मन्त्री र सांसदहरू चढेको गाडीमा तोडफोड गर्ने, आक्रमण गर्नेसम्मको गतिविधि भइरहेको छ, प्रहरीले संयमित भएर सुरक्षा प्रदान गरेको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस