२५ जेठ २०८०
नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुर जिल्लाका आरक्ष पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद लामाले समस्या समाधानका लागि पीडितहरू महिना दिनदेखि राजधानीमा भौँतारिरहेका बताउँदै पीडितको पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद तामाङले भने–‘कुरो उठाएको उठायै छु । सरकारले गर्छु मात्र भन्ने । हाम्रो कञ्चनपुर जिल्लाको आरक्ष पीडितहरूको वर्षौँदेखिको समस्या समाधानका लागि केही प्रगति भएको छैन । नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भनेर आस गरेर अहिले काठमाडौँमा हप्तौँदेखि पीडितहरू भौँतारिरहेका छन् । सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ ?’
तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित भएका सयौँ पीडित परिवारको राज्यबाट अझै पुनर्स्थापना हुन सकेको छैन । उनीहरू अझै पनि सडक र नदी किनारमा शिविर बनाएर बसिरहेका छन् । केही समयअघि आरक्ष पीडित सङ्घर्ष समिति बनाएर पीडितहरू काठमाडौँ आई जिल्लाबाट निर्वाचित सांसद र मन्त्री तथा प्रधानमन्त्रीसँग भेट गरेर समस्या समाधानका लागि पहल गरेका थिए तर उनीहरूको समस्याको अझै सुनुवाइ भएको छैन ।
साभार ः अनलाइन
प्रतिक्रिया दिनुहोस