धादिङ २४ जेष्ठ
आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाएको छ ।
बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समितिले आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानून तथा नियमनको प्रतिवेदन बुझाएको हो ।
नीतिगत तथा संरचनागत सुधारअन्तर्गत सरकारी सञ्चारमाध्यमको पुनःसंरचना, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल, आमसञ्चार माध्यमको विकास, आमसञ्चार क्षेत्रमा बहुलता, विविधता र समावेशिताको प्रवर्धन, श्रम समस्याको समाधान, सामाजिक सुरक्षा एवं सूचनाको हक, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी विषयमा पनि सुझाव प्रस्तुत गरेको छ ।
समितिले यसअघि पनि दुई चरणमा अन्तरिम प्रतिवेदन प्रस्तुत गरेको थियो । बुधबार सम्बन्धित मन्त्रीसहित मन्त्रालयका अधिकारी, सरोकारवाला संघसंस्था तथा निकाय र विज्ञहरूसँग अन्तरसंवाद गरी कार्यादेश बमोजिम अन्तरिम प्रतिवेदन समेटेर अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो ।
प्रतिवेदन ग्रहणपछि बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार सम्बन्धी कानून निर्माण नहुँदा समस्या भइरहेकाले आफूले पहिलो प्राथमिकतामा राखेर कानून निर्माणका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरेर उक्त अनुसार कानून निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारले २०७९ फागुन २६ गतेको मन्त्रिस्तरीय निर्णयबाट डा.सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस