२४ जेठ २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए।
प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ता महत्वपूर्ण रहेको उल्लेख गर्दै भ्रमण विशेष गरी विद्युत् व्यापार, कृषि, सुक्खा बन्दरगाह, पारवहनलगायतका विषयमा केन्द्रित रहेको जानकारी दिए। उनले भ्रमणका क्रममा भारतसँग अतिरिक्त हवाई प्रवेश विन्दुको अनुमतिका विषयमा समेत महत्वपूर्ण र सकारात्मक छलफल अगाडि बढेको जानकारी बताए।
उनले जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा पनि उत्तिकै गम्भीर छलफल एवम् सहमति भएको भनाइ राखे ।“भारतीय भूमि हुँदै बङ्गलादेशसँग बिजुली व्यापारका लागि सहमति भएको छ । भारतीय प्रधानमन्त्रीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने बताउनुभएको छ”, प्रधानमन्त्री दाहालले भने ।
यसले माथिल्लो तामाकोशी जलविद्युत लगायतका आयोजनाबाट उत्पादित बिजुली निर्यात हुने वातावरण बनेको जानकारी दिए। जलविद्युतको बजार सुनिश्चित भएको र त्यसले मुलुकको ऊर्जा क्षेत्रमा थप लगानीका लागि मार्ग प्रशस्त भएको, पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तीन महिनाभित्र पूरा गर्ने र एक वर्षभित्र कार्यान्वयनको ढाँचा तय गर्ने सहमति भएको प्रधानमन्त्रीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस