धादिङ ५ बैशाख
कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ ।
लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउन समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायबीच निर्णय भएको बताउनुभयो । उनका अनुसार बजारमा मलको कमी हुनुको मुख्य कारण बजेट विनियोजन समयमा नहुनु हो । उनले पछिल्लो वर्षका लागि मलको आवश्यकता परिपूर्ति गर्न पुस मसान्तभित्र आवश्यक बजेट चाहिने बताउनुभयो ।
मल वितरण निर्देशिकाबमोजिम लिमिटेडले पाँच हजार तीन सय सहकारी संस्थामार्फत स्थानीय तहसम्म मल बिक्री वितरण हुने गरेको छ । प्रबन्ध सञ्चालक पोखरेलका अनुसार साल्ट ट्रेडिङले ३० प्रतिशत र लिमिटेडले ७० प्रतिशत मल आपूर्ति गर्ने गरेका छन् । यस आर्थिक वर्ष कृषकलाई रासायनिक मल बढीमा सात लाख मेट्रिक टन र कम्तीमा पाँच लाख मेट्रिक टन आवश्यक हुन्छ ।
हाल लिमिटेडमा एक लाख मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र अरु आपूर्ति गर्न टेण्डर खोलिएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७८–७९ मा करिब एक लाख ७७ हजार ५०६ मेट्रिक टन आपूर्ति गरेकोमा यस आर्थिक वर्षमा हालसम्म खरिद र टेण्डर भएको जम्मा तीन लाख २४ हजार मेट्रिक टनमध्ये एक लाख ३८ हजार एक सय टन भित्रिएको र एक लाख ३६ हजार छ सय टन बिक्री वितरण भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
भारत सरकारबाट खरिद भएको युरियामध्ये आठ हजार दुई सय मेट्रिक टन प्राप्त भएको र २१ हजार आठ सय मेट्रिक टन आउने क्रममा रहेको छ । एक लाख २३ हजार मेट्रिक टन सम्झौता भएको र ४० हजार मेट्रिक टन टेण्डर भएको मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस