धादिङ ४ बैशाख
धादिङको रुविभ्याली गाउँपालिकामा गाउँ प्रहरीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
आज एक कार्यक्रमको आयोजना गरी ९ जना गाउँ प्रहरीमा नियुक्त भएकाहरुलाई प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोलेले पद तथा गोपिनियताको शपथ ग्रहण गराईएको हो ।
गाउँपालिका अध्यक्ष रामसिङ तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष फेलामा तामाङ,प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्नु हुदै गाउँपालिका प्रमुख रामसिङ तामाङले स्थानीय तह सरकारले पाएको २२ वटा अधिकारमध्ये गाउँपालिकाको सर्वङगीण बिकास र सुरक्षालाई मजबुद बनाउन गाउँ प्रहरी नियुक्त गरेको बताउनुभयो ।
गाउँपालिकाले ऐन बनाएर सम्पदाको संरक्षण,वन तथा प्राकृतिक क्षेत्रको संरक्षण,पर्यटन क्षेत्रको बारेमा लेखाजोखा गरी पर्यटकहरुको अभिलेख राख्न,न्यायिक समितिमा जोडिएको कुराहरुमा सहकार्य गर्न,गैरकानुनी रुपमा जडिबुड्डी,खनीज पदार्थको अवैध कारोवारलाई रोक लगाउन र गाउँपालिकालाई दिगो अर्थतन्त्रको आधार निर्माण गरि आम नागरिकलाई सुशासन पारदर्शिता र सुरक्षामा ग्यारेन्टी दिलाई संबृद्ध रुविभ्याली बनाउने परीकल्पना रहेको बताउनुभयो ।
अध्यक्ष तामाङले स्थानीय गाउँ प्रहरी ऐन अनुसार काम कार्वही अगाडी बढाउन नवनियुक्त गाउँ प्रहरीहरुलाई अग्रह गर्नुभयो । गाउँ प्रहरीहरु कुनै राजनितिको रङबाट नआएको प्रष्ट पार्दै राजनितिक दवाव र चलखेलमा नलाग्न आग्रह गर्नुभयो ।
रुविभ्याली सरकारले निर्दैशित गरेको कार्यमा अनुशासित भई काम गर्न आग्रह गर्नुभयो । गाउँ प्रहरीले ऐन विपरीत कार्य गरेमा कुनैपनि वेला कार्वही गर्न सक्नेपनि अध्यक्ष तामाङले बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष फेलामा तामाङले नेपाल सरकारको चुनौतीलाई थप मजबुद बनाउन गाउँपालिकाले गाउँ प्रहरी नियुक्त गरिएको बताउनुभयो । विभिन्न देशका नाकाहरुसंग जोडिएको रुविभ्याली गाउँपालिका भएकाले विभिन्न बहानामा हुने गरेका चोरी ,पैठारी,उत्खनन् ,अवैध बस्तुहरुको ओसारपसारमा रोक लगाउन नेपाल प्रहरीसंग सहकार्य गरेर गाउँपालिकालाई सुरक्षाको ग्यारेन्टी दिने बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोलेले नियम र कानुन अक्षरंश पालना गरी सभ्य समाज निर्माणको लक्ष्यमा अगाडी बढ्न आग्रह गर्नुभयो । स्थानीय तहमा आम नागरिकलाई शुसासनको प्रत्यभूति दिलाउन कर्मचारीतन्त्र अनुशासित हुनु्पर्ने बताउनुभयो ।
कार्यक्रममा नवनियुक्त गाउँप्रहरीहरुलाई सम्मान सहित गाउँ प्रहरी ऐन पुस्तक प्रदान गरिएको थियो । नियुक्त गाउँ प्रहरीको तालिम भने एक महिनाको हुने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस