अपिल कोइराला
धादिङ २९ भाद्र
५५ औँ बाल दिवसको अवसर पारी धादिङ आवासीय माध्यमिक विद्यालयले विद्यालयमा विविध कार्यक्रमको आयोजना गरेको छ । सुनिश्चत बाल अधिकार सम्बृद्ध नेपालको आधार भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले बाल अधिकार सम्बन्धी विविध कार्यक्रमको आयोजना भएको हो । पूर्व प्राथमिक, प्राथमिक र माध्यमिक गरी तीन तहमा विभाजन गरेर गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै न्यु धादिङ बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद दाहाल, गणेश हिमाल क्याम्पसका सञ्चालक समिति अध्यक्ष गोविन्द कुमार श्रेष्ठ, निर्देशक भुपेन्द्र कुमार श्रेष्ठ, क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डे, विद्यालयका प्रधानाध्यापक हरि लम्साल र एजुकेटिभ डाइरेक्टर सुरेन्द्र शाह लगायत विद्यालयका शिक्षक, विद्यार्थी र उल्लेख्य मात्रामा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुले गरेको अन्तर सदनात्मक नाटक प्रर्दशनमा हरियो सदन प्रथम, पहेलो सदन द्धितीय र नीलो सदन तृतीय भएका थिए । विद्यार्थीहरुले नाटकका माध्यमबाट बालबालिकाहरुले कस्ता खालका समस्या भोग्दै आएका छन् ? परिवारमा छोरा छोरीबीच भएको विभेद, बालबालिकाहरुको अधिकार के हो ? उनीहरुलाई कसरी संरक्षण गर्नुपर्छ भन्ने जस्ता विषयवस्तुलाई उठान गरेका थिए । कार्यक्रमकै अवसरमा एस.इ.इ २०७५ मा नगरपालिकाभित्रमा विषयगत रुपमा उत्कृष्ठ औषत जिपिए ल्याउन सफल अङ्ग्रेजी विषय शिक्षक सैलेश अधिकारी, नेपाली विषय शिक्षक लोकनाथ रिजाल, सामाजिक विषय शिक्षक प्रकाश गुरुङ र जनसङ्ख्या विषय शिक्षक दिपक श्रेष्ठलाई विद्यालयको तर्फबाट सम्मान समेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम अधिकारीले विद्यालयका शिक्षक विद्यार्थीहरुले गरेको सफलता देखेर आफू एकदमै हर्षित भएकाले आगामी दिनमा पनि सफलता प्राप्त गर्नका लागि सञ्चालकहरुको तर्फबाट पुरा गर्नुपर्ने भूमिकामा कति पनि कमि नआउने बताउनु भयो । विद्यालयका सेकेन्डरी इन्चार्ज अपिल कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयबाट विभिन्न संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी भइ सफल हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस