२८ चैत्र
पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
२४ घण्टाको अवधिमा कोरोनाबाट एक महिलाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि उनको मृत्यु भएको हो ।
यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । कोरोनाबाट मंगलबार मृत्यु भएकी ७० वर्षीया महिला वीर अस्पतालमा उपचाररत थिइन् । उनका सोमबार निधन भएको थियो ।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । हाल संस्थागत आइसोलेसनमा २४ जना, आईसीयूमा १३ जना र भेन्टिलेटरमा ५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस