धादिङ १४ चैत्र
सत्तारुढ दलको बैठक आज बस्दै छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ ।
सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा आज गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।
शीर्ष तीन नेताको भेटमा आज अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो । गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ ।
मन्त्रिपरिषद् विस्तार गरिने भनिए पनि दलहरुबीच सहमति हुन सकेको छैन । कांग्रेसले अर्थसहित आठ मन्त्रालयमा दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय पाउनु पर्ने अडान लिँदै आएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित साविकै मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने सर्त अगाडि सारेको छ .।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत १० दल गठबन्धनमा आबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस