धादिङ २६ भाद्र
राजसंस्थालाईं राष्ट्रिय एकताको प्रतीकको रुपमा राख्नुपर्ने राष्ट्रिय प्रजातान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बताउनु भयो । बिहीबार धादिङबेसीमा पत्रकारहसँग कुरा गर्दै पूर्व गृहमन्त्री समेत रहेका नेता तामाङले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट संविधानमा रहका गलत व्यवस्थाहरुको बिरोध गर्ने बताउनु भयो । राष्ट्रिय प्रजातान्त्रिक पार्टी जिल्ला कार्यसमिति धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा तामाङले जनताको सर्वोच्चता र राष्ट्रियतालाई मूल मन्त्र मानी पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य स्थापना राप्रको मुख्य एजेन्डा भएको समेत बताउनु भयो ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टी जिल्ला कार्यसमिति धादिङको प्रशिक्षण कार्यक्रमका लागि धादिङ आउनु भएका तामाङले ४० भन्दा बढी देशमा राजसंस्था रहेकाले राष्ट्रिय एकतालाई सुदृढ बनाउनका लागि पनि राजसंस्था अनिवार्य हुने बताउनु भयो । फरक प्रसङ्मा पूर्व मन्त्री तामाङले कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको र देशमा भ्रष्टाचार, वेथिति मौलाएको तथा न्यायालय नै विबादमा परेको बताउनु भयो । राष्ट्रिय प्रजातान्त्रिक पार्टीले वर्ष २०७६ लाई सङ्गठन विस्तारको वर्षको रुपमा मान्दै पौषसम्म स्थानीय तहका समेत सङ्गठन विस्तार गर्ने भएको छ । २०७७ जेष्ठमा महाधिवेशन गर्ने लक्ष्य राखेको राप्रपाले ४४ जिल्लामा प्रशिक्षण तथा भेलाहरु सम्पन्न गरेको छ ।
प्रतिक्रिया दिनुहोस