धादिङ २४ भाद्र
धादिङ जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा ९४ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा धादिङका विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई आत्महत्या रोकथामका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । आत्महत्या रोकथामका लागि सँगसँगै काम गरौँ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना तथा उत्थान नेपाल र सहयात्री समाज धादिङको समन्वयमा सम्पन्न भएको हो ।
नीलकण्ठ बहुमुखी क्याम्पसमा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी आशमान तामाङले आत्महत्या अहिलेको जल्दो बल्दो समस्या भएकाले यसको रोकथामको लागि सबै सरोकारवाला पक्षहरु एक हुनुपर्ने बताउनु भयो । सधैँ सकारात्मक सोच राख्ने, इष्र्या नगर्ने, लक्ष्य प्राप्तिमा निरन्तर लागिरहने, विकल्पहरुको खोजी गर्ने, सधै व्यस्त रहने, नियमित शारीरिक व्यायाम गर्ने जस्ता कार्यहरुले आत्महत्याको सोचलाई निरुत्साहित गर्ने बताउनु भयो ।
नीलकण्ठ बहुमुखी क्याम्पसमा कार्यक्रमको उद्घाटन गरी गणेश हिमाल क्याम्पस, सिपि कलेज र एडभान्स एकेडेमीका विद्यार्थीहरुलाई आत्महत्या रोकथामको लागि सचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आष्शमान तामाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैदवार, नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा लगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गर्दछन् । नेपालमा आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७ सय ७५ जनाले आत्म हत्या गरेका छन् भने धादिङ जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा ९४ जनाले आत्महत्या गरेका छन् जसमा ४७ जना पुरुष र ४७ जना महिला रहेका छन् । आर्थिक वर्ष २०७६ लागेसँगै १२ जनाले आत्महत्या गरेका छन् ।
प्रतिक्रिया दिनुहोस