धादिङ २४ भाद्र
गणेश हिमाल क्याम्पस धादिङबेसीमा मङ्गलबार आत्महत्या रोकथामको लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना तथा उत्थान नेपालको सहकार्यमा विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारी विद्यार्थीहरुलाई आत्महत्या रोकथामको बारेमा सचेतना गरिएको हो ।
कार्यक्रममा आत्महत्या भनेको के हो ? आत्महत्याको सोच कसरी आउँछ ? आत्महत्यालाई रोकथाम तथा निरुत्साहन गर्न के गर्न सकिन्छ ? कस्तो कस्तो अवस्थामा आत्महत्याको सोच आउँछ ? विश्वमा आत्महत्याको अवस्था कस्तो छ ? नेपालमा आत्महत्याको तथ्याङक के छ ? जस्ता विषयमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रतिनिधि र उत्थान नेपाल धादिङकी मनोविमर्शकर्ता भगवती तिवारीले विद्यार्थीहरुलाई सचेत गराउनु भएको थियो ।
कक्षा ११, १२ तथा स्नातक तहका विद्यार्थीहरु सम्मिलित सचेतना कार्यक्रमको अध्यक्षता गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डेले गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै क्याम्पस प्रमुख पाण्डेले विशेष गरी आत्महत्याको सोच किशोर किशोरीहरुलाई आउने हुँदा सचेत रहनुपर्ने तथा आफ्ना आवश्यकता पुरा नहुदा पनि विकल्पको खोजी गर्नुपर्ने बताउनु भयो । यस्तै विद्यार्थी सचेत वर्ग भएकाले आफूमा पनि आत्महत्याको सोच ननिम्त्याउने र अरुलाई पनि यसका बारे जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस