धादिङ ९ फागुन
नीलकण्ठ नगरपालिका वडा नं.–८, अर्चलेमा सञ्चालित स्वाबलम्बी बहिरा आधारभूत विद्यालयलाई युएसएआइडीको तयार नेपाल नामक गैर सरकारी संस्थाद्वारा कुल लागत मु.अ.क सहित रु. ६०, ११, ३४३÷– को आर्थिक सहयोग र नीलकण्ठ नगरपालिकाको समन्वयमा पहिरो जोखिम नियन्त्रण कार्यक्रमक अन्तर्गत विद्यालयको हाथाभित्रका पहिरोजन्य भू–भागमा पक्की तारजाली सहितको रेलिङबार निर्माण कार्य सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माको अध्यक्षता, नीलकण्ठ ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, स्रोत ब्यक्ति मेघनाथ कोइराला, विभिन्न राजनैतिक दलका प्रतिनीधिको आतिथ्यता एवं सोही योजनाको ठेकदार सूर्य अधिकारी, विद्यार्थी तथा तयार नेपालका कर्मचारीहरुको उपस्थितिमा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय गैरसरकारी संस्थाले कागजी प्रकृया मात्र पुरा गरी नतिजा रहीत काम गर्छन् भन्ने कथनलाई चिर्दै एक उदाहरणीय काम सम्पन्न गरेको भन्दै उप–प्रमुख दिपक विश्वकर्माले धन्यवाद ब्यक्त गरेका थिए । साथै वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले पनि सो कामको उच्च प्रसंशा गर्दै सहयोगको निरन्तरताको अपेक्षा राख्दै, फरक क्षमता सहितको बहिरा साथीहरुसँग भाषिक समस्याले गर्दा काम गर्दा समन्वयमा कठिनाई रहेको बताएका थिए ।
वि.सं. २०६८ सालमा स्थापना भएको यस विद्यालयमा हाल कुल ५२ जना विद्यार्थीहरु अध्ययनरत छन् र यस मध्ये ३१ छात्र र २१ छात्राहरु आवास सहितको भवनमा अध्ययनरत छन् । विद्यालय क्षेत्र पहाडी भिरालो जमीनमा रहेकोले घेराबार नहुँदा विद्यार्थीहरु भागेर यत्रतत्र जानु, यातायात र अन्य पूर्वाधार निर्माणमा यहाँको प्रमुख चुनौतीको रुपमा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस