धादिङ २२ भाद्र
गुणस्तरीय सेवा, व्यवसायिक एकता, हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ नीलकण्ठ नगरपालिकाले ४० औँ शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस भव्यताका साथ सम्पन्न गरेको छ । नीलकण्ठ नगरपालिका धादिङका उपमेयर मनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, विभिन्न शिक्षक संघ सङ्गठनका प्रमुख एवं प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कक्षा ८ को नगरपालिका स्तरीय परीक्षामा उत्कृष्ठ जिपिएका साथ प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरु, औषत उत्कृष्ठ जिपिए प्राप्त गर्ने विषय शिक्षक, एस.इ.इ परीक्षा २०७५ मा उत्कृष्ठ जिपिएका साथ प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरु र औषत उत्कृष्ठ जिपिए प्राप्त गर्ने विषय शिक्षकहरुलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा नगरपालिकाभित्र स्रोत व्यक्ति भएर लामो समय सेवा गर्नुभएका पूर्व स्रोत व्यक्तिहरु ईश्वर कुमार श्रेष्ठ, उदय बहादुर भण्डारी र कृष्ण राज अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले शिक्षाको क्षेत्रमा नीलकण्ठ नगरपालिका देशभरकै नमूना बनाउनको लागि वडा वडामा नमूना विद्यालय घोषणा गर्नुपर्ने, अभिभावक वडापत्रको निर्माण गर्नुपर्ने, शिक्षक महोत्सव, शिक्षक हाजिरी जवाफ, विद्यार्थीहरुको लगबुकको व्यवस्था, शैक्षिक सामग्री निर्माण सप्ताह जस्ता कार्यहरुका साथै शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्ने बताउनु भयो । धादिङको शैक्षिक उपलब्धी ५३ प्रतिशतबाट झरेर ४२ प्रतिशतमा आइपुगेकाले यसलाई बृद्धि गर्नको लागि नगरपालिका, सरोकारवाला निकाय, शिक्षक, अभिभाववक र विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
कार्यक्रममा सुभकामना मन्तव्य राख्दै शिक्षक संघ सङ्गठनका प्रतिनिधिहरुले संघीय शिक्षा ऐन नबनेको अवस्थामा नगरपालिकाले शिक्षासँग सम्बन्धित विभिन्न ऐन नियमहरु बनाएर शिक्षकहरुको अव्यवहारिक तरिकाले सरुवा, विद्यालय मर्च, दरबन्दी मिलान जस्ता कुराहरु गरेको गुनासो गरेका थिए । नीलकण्ठ नगरपालिकामा सामुदायिक र संस्थागत गरी ८७ वटा विद्यालय रहेका छन् । नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्दै आएको छ । अझै पनि नगरपालिकाको शैक्षिक स्तर सुधार हुन नसकेको गुनासो गर्दै कार्यक्रमका वक्ताहरुले शिक्षकहरुलाई विद्यालयमा पठन पाठन गर्ने उचित वातारण सिर्जना गर्न र नगरपालिकाले शैक्षिक क्षेत्रका लागि उचित बजेटको व्यवस्थापन गर्न माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस