धादिङ ३ फागुन
मोबाइल व्यवसायीहरुले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्दै मोबाइल व्यवसायी संघले गोंगबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरुबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएको छ ।प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको उल्लेख छ ।
‘दिन दहाडै सुरक्षालाई चुनौती दिँदै लुटपाटको शैलीमा यस्ता अराजक गतिविधि भइरहँदा हाम्रो अभिभावक सरकारसँग नगए हामी कहाँ जाउँ ? यहाँबाट उचित क्षतिपूर्ति र व्यवसाय पुनः निर्धक्क सञ्चालन गर्नसक्ने अवस्थाको प्रत्याभूतिको लागि सविनय अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । क्षतिको आकलन गर्दै तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनका नाममा लुटपाट तथा आपराधिक क्रियाकलाप गर्नेहरुलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन समेत अनुरोध गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले एक समिति बनाएर घटनाबारे अनुसन्धान गर्ने र उचित क्षतिपूर्ति दिलाउने आश्वासन दिएको संस्थाका अध्यक्ष भरत भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस