धादिङ २८ माघ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२ औँ स्थापना दिवस मनाउँदै छ । अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो ।
नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो। हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ । आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालय छन् ।
भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा योगदान दिन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ एवं अन्य प्रचलित कानुनी व्यवस्थामा आधारित कार्यसम्पादन गरिरहेको छ ।
वर्तमान समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दैनिक भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने क्रम बढेको देखिएको छ । भ्रष्टाचार अवधारण सूचकांकले पनि नेपालको अवस्थामा खासै सुधार नभएको देखाइरहँदा अख्तियारको तथ्याङ्कामा पनि उजुरीका चाङ पनि बढ्ने क्रममा रहेको देखिएको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९÷०८० को साउनयता उजुरी दिनेको सङ्ख्या अत्यधिक बढेको छ । साउनयता मात्रै नौ हजार बढी अनियमितता र भ्रष्टाचारका उजुरी परेको आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बताउनुभयो । आयोगमा साउनयता मात्रै नौ हजार पाँच सय १३ उजुरी दर्ता भएका छन् ।
साउनमा दुई हजार ९०, भदौमा एक हजार ६ सय ९८ र असोजमा एक हजार एक सय ५२ उजुरी परेका थिए । त्यस्तै, कात्तिकमा नौ सय २९, मंसिरमा नौ सय ३८, पुसमा एक हजार ३ सय ३२ र माघको हालसम्ममा एक हजार तीन सय ७४ उजुरी परेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८-०७९ मा २४ हजार २ सय ४१ उजुरी परेका थिए ।
प्रतिक्रिया दिनुहोस