धादिङ १९ भाद्र
५७ औँ नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको अवसर पारी धादिङ जिल्लामा नेपाल रेडक्रस सोसाइटीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बिहिबार बिहान पुछारबजारबाट प्रभातफेरी कार्यक्रमको आयोजना गर्दै जिल्ला अस्पताल धादिङको प्राङ्गणमा गई समापन तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । प्रभात फेरी कार्यक्रममा धादिङ बोर्डिङ स्कुल, सुनगाभा एकेडेमी, एडभान्स एकेडेमी, नीलकण्ठ माध्यमिक विद्यालय, चिल्ड्रेनपार्क माध्यमिक विद्यालय लगायतका विद्यालयका रेडक्रस सर्कलका विद्यार्थीका साथै स्वयमसेवी रेडक्रसकर्मीहरुको सहभागिता रहेको थियो ।
जिल्ला अस्पताल धादिङको प्राङ्गणमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण प्रसाद तिमल्सिनाको अध्यक्षता, प्रतिनिधि सभा सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको विशेष आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो । स्थापना दिवसकै अवसरमा कर्मचारी मिलन केन्द्र धादिङ र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ४१ जना पुरुष २ जना महिला गरी ४३ जनाले रक्तदान गरेका थिए । यस्तै स्थापना दिवसकै अवसर पारेर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले जिल्ला अस्पताल धादिङका ३० जना बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
यस्तै ५७ औँ स्थापना दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी मैदी उपशाखाको आयोजनामा मैदी सातदोवाटोमा रहेको संस्कृत तथा साधारण माध्यमिक विद्यालय हाता वरिपरि सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । सरसफाइ कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, जुनियर रेडक्रस सर्कल र शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकै अवसर पारी मैदी स्वास्थ्य चौकीका इन्चार्ज तारकेश्वर पट्टेलले डेङ्गु रोग तथा यसबाट बच्ने उपाय र सरसफाइका बारेमा प्रशिक्षण समेत दिनुभएको मैदी उपशाखाका सभापति राजन सिंखडाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस