धादिङ भाद्र १९
नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको प्रथम क्याम्पस सभाले सञ्चालक समिति अध्यक्षमा पुनः नेपाली काङ्ग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीलाई चयन गरेको छ । बिहिबार भएको प्रथम क्याम्पस सभाले ५ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा अधिकारी र सदस्यहरुमा नेपाली काङ्ग्रेस धादिङका वर्तमान सभापति रमेश धमला र पूर्व क्याम्पस प्रमुख सम्भु कुमार श्रेष्ठलाई मनोनित गरेको हो भने बाकी २ सदस्य मनोनित गर्न बाकी छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका निवर्तमान कुलपति तीर्थराज खनियाको प्रमुख आतिथ्यता, प्रतिनिधि सभा सांसद खेम प्रसाद लोहनी, त्रिभूवन विश्व विद्यालयका शिक्षा शास्त्र संकायका डिन प्राध्यापक डा. कृष्ण गौतम, प्राध्यापक डा. सीताराम विष्ट, प्राध्यापक डा. रामचन्द्र लम्साल, प्राध्यापक डा. उमाकान्त सिलवाल, प्राध्यापक डा. मोहन तिमल्सिना, प्रदेश सभा सांसद डा. राम कुमार अधिकारी, राजाराम कार्की लगायतको विशेष आतिथ्यता रहेको थियो । यस्तै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमला, प्रमुख जिल्ला अधिकारी आशमान तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
२०५७ सालमा स्थापना भएको नीलकण्ठ क्याम्पस जिल्लाकै पुरानो क्याम्पस र स्नातकोत्तर सम्म अध्यापन हुने जिल्लाको एक मात्र क्याम्पसको रुपमा रहेको छ । बि.ए, बि.एड, बि.बि.एस, एम.एड, एम.बि.एस जस्ता विषयहरुमा अध्यापन हुँदै आएको क्याम्पसमा हाल ८ सय ९६ विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस