धादिङ २० माघ
सिद्धलेक गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि सत्यवती माध्यमिक विद्यालयले जितेको छ । सिद्धलेक गाउँपालिकाको आयोजनामा सिद्धलेक गा.पा–४ स्थित सलाङघाटमा रहेको जलेश्वरी मा.वि.मा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण, ५ रजत पदक र २ कास्य पदक सहित सत्यवती माविले उपाधि जितेको हो ।
प्रतियोगितामा ६ स्वर्ण र ५ रजत पदक सहित सिद्धेश्वर मा.वि.दोस्रो, ४ स्वर्ण, ८ रजत र ४ कास्य पदक सहित महाकाली मा.वि तेस्रो र ३ स्वर्ण, १ रजत र ४ कास्य पदक सहित बाघवच्छला मा.वि.चौथो हुन सफल भएको छ ।
प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा र जिल्ला समन्वय समिती प्रमुख नवराज अधिकारीले शिल्ड, प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको छ ।
माघ १८ गते देखि सुरु भएको उक्त प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । १३ सरकारी र १ निजी गरी १४ माध्यामिक विद्यालयको सहभागिता रहेको थियो ।
सिद्धलेक गा.पा. अध्यक्ष परशुराम खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने गा.पा. उपाध्यक्ष सबिता अर्याल, जिल्ला समन्वयका उपप्रमुख कुलमान बिश्वकर्मा, शिक्षा विकास तथा समन्वय इकाई धादिङका निमित्त प्रमुख कृष्ण राज श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा १४ वटै विद्यालयका विद्यार्थी, शिक्षक, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस