धादिङ १९ माघ
मैदिकोट विराट धार्मिक महोत्सव २०७९ बिहिबार सम्पन्न भएको छ । मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समिति ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को महायज्ञ मूल समारोह समितिको आयोजना मैदीका सबै युवा क्लब, आमा समूह तथा एकादशी समूह र ज्वालामुखी गाउँपालिकाको प्रायोजनमा उक्त धार्मिक महोत्सव सम्पन्न भएको हो ।
धार्मिक महोत्सवबाट अनुमानित ४० लाख रकम संकलन भएको मन्दिर संरक्षण समितीले जनाएको छ । आधिकारिक जानकारी भने सार्वजानिक सुनुवाईको आयोजना गरि सार्वजानिक गरिने मन्दिर संरक्षण समितीका सचिव नरेन्द्र प्रताप शाहले बताउनुभयो ।
समापन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि प्रतिनिधिसभा सांसद रामनाथ अधिकारीले मैदीकोट खड्गदेवी मन्दिर संरक्षण र सडक निर्माणका लागि विशेष व्यवस्था गर्ने बताउनुभयो । धादिङमा रहेका सबै पु्रातात्विक मन्दिरहरु आफ्नो प्राथमिकतामा रहेको उँहाको भनाई छ ।
यस्तै प्रदेश सांसद गोविन्द लम्सालले मैदिकोट मन्दिर संरक्षणमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिङगो धादिङको सर्वाङगीण विकासमा स्थानीय तह संग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
समापन समारोहलाई सम्बोधन गर्नुहुदै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले मैदीकोट खड्गदेवी मन्दिर जस्ता धार्मिक, पुरातात्विक महत्व बोकेका स्थलको संरक्षण गर्न आवश्यक रहेको भन्दै उहाँले व्यक्तिगत तर्फबाट खड्गदेवी मन्दिर संरक्षणका लागि ५१ हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
मैदिकोट विराट धार्मिक महोत्सव सहयोग गर्ने सहयोगिहरुलाई सम्मान गरिएको थियो ।
धार्मिक महोत्सवमा भागवत वाचिका आचार्य श्री सबिना देवीले कथा वाचन गर्नुभएको थियो । मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समितीका अध्यक्ष रामजी श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रतिनिधिसभा सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सांसद गोविन्द लम्साल, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस