धादिङ १८ माघ
धादिङको सिद्धलेक गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । सिद्धलेक गाउँपालिकाको आयोजनामा सिद्धलेक गा.पा–४ स्थित सलाङघाटमा रहेको जलेश्वरी मा.वि.मा प्रतियोगिता सुरु भएको हो ।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा बागमती प्रदेश सांसद मधुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने समानुपातिक सांसद मायादेवी शर्मा कंडेल, जिल्ला खेलकुद विकास समिती धादिङका अध्यक्ष प्रतापसिंह तामाङ लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि समेत रहनुभएको सांसद मधुकुमार श्रेष्ठले खेलकुद एउटा बहुआयामिक र बहुप्रतिभाको क्षेत्र भएकाले राज्यको तिनै तह सरकारले विकास गर्न आवश्यक रहेको बताउदै खेल क्षेत्रको विकासमा आफुले पहल गर्ने बताउनुभयो ।
यस्तै, जिल्ला खेलकुद विकास समिती धादिङका अध्यक्ष प्रतापसिंह तामाङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धादिङको १३ वटै स्थानीय तहले उत्सवको रुपमा मनाउन आग्रह गर्नुभएको छ ।
प्रतियोगितामा १ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । माघ १८ गते देखि सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस