बागमती प्रदेश सरकारले सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ ।
त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरी अध्ययन गरिरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा. बज्रकिशोर ठाकुरले बताउनुभयो।
३ वटा जिल्लाको आवेदन प्राप्त हुन बाँकी भएको भन्दै उनले त्यसको समेत अध्ययन गरेर फागुन मसान्त भित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने जानकारी दिनुभएको छ।
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ । मासिक १ हजार ५ सय लिटर दुध संकलन गर्ने र वार्षिक कम्तिमा २ सय दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादन सहकारी मात्र अनुदान कार्यक्रममा सहभागी हुन पाउँछन् ।
बागमती सरकारले लिटरमा ५ रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो । गत आर्थिक वर्षमा २६० वटा दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई १६ करोड रुपैयाँ अनुदान वितरण गरेको थियो । गत वर्ष किसानले प्रतिलिटर १ रुपैंया ६४ पैसा अनुदान पाएका थिए ।
बागमती सरकारले २०७६ सालदेखि दुधमा नगद अनुदान दिंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस