धादिङ १६ माघ
गंगाजमुना गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारबाट सुरु भएको छ । धादिङको गंगाजमुना गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा मण्डली माध्यामिक विद्यालय प्राविधिक शिक्षालय गंगाजमुना ५ फुलखर्क धादिङको संयोजन तथा प्राविधिक व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।
सोमबारबाट सुरु भएको प्रतियोगितामा छेलो, भाला, हाईजम्प, लङजम्प लगायतका खेलहरु सम्पन्न भएको छ । हाल सम्म भएको खेलहरुको परिणाम अनुसार रि गाउँ मा.वि. र मण्डली माध्यामिक विद्यालय प्राविधिक शिक्षालय अग्र स्थानमा रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा गाउँपालिका भरिका ८ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ । मण्डली मा.वि. का प्राध्यापक ज्ञानेन्द्र बहादुर कार्कीको सभापतित्व रहेको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने गंगाजमुना गा.पा. का अध्यक्ष भक्त लामा, उपाध्यक्ष रामेश्वर सिंखडा, प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिती धादिङका प्रमुख अधिकारीले स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भएको भन्दै खेलकुदको समग्र विकासका लागि आफु सदैव लागिपर्ने बताउनुभयो ।
उँहाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले लुकेर रहेको कला र क्षमतालाई अगाडि ल्याउने भएकाले यस्ता प्रतियोगिताहरुलाई थप व्यवस्थित तरिकाले निरन्तरता दिन आग्रह गुर्नभयो । आज (सोमबार) बाट सुरु भएको प्रतियोगिता माघ १९ गते सम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस