धादिङ १५ भाद्र
नीलकण्ठ नगरपालिकाले आफूखुसी शिक्षा ऐन निर्माणको नाममा कार्यविधि बनाइ पारित गरी पूर्वाग्रही ढङ्गले शैक्षिक सत्रको बीचमा शिक्षकहरु सरुवा, विद्यालय समायोजन, घटुवा गर्ने तथा विद्यालय व्यवस्थापन समिति गठनमा अबरोध पु¥याउने गरेको भन्दै शिक्षक सङ्गठनहरुले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । आइतबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन नीलकण्ठ नगरपालिका समिति र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नीलकण्ठ नगरपालिका समिति समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको ध्यानाकर्षण गराएका हुन् । संविधानको धारा ३०४ मा संविधान जारी हुँदाको बखत कायम रहेका ऐन नियमहरु खारेज वा संशोधन नभएसम्मका लागि लागु हुने व्यवस्था रहेको र हालसम्म पनि संघीय शिक्षा ऐन , प्रदेश शिक्षा ऐन बन्ने प्रकृयामा रहेकाले नीलकण्ठ नगरपालिकाले कानुन विपरित ऐनहरु निर्माण गरी मनोमानी तरिकाले लागु गरिएको भन्दै बिरोध जनाएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन नीलकण्ठ नगरपालिका समितिका अध्यक्ष जनार्दन नेपाल र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नीलकण्ठ कार्यसमितिका अध्यक्ष शालिकराम अर्यालको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा सरस्वती माध्यमिक विद्यालय नीलकण्ठ १४, भैरवी माध्यमिक विद्यालय नीलकण्ठ ६, बाल विकास आधारभूत विद्यालय नीलकण्ठ १४, लगायतका विद्यालयहरुमा नियम कानुनभन्दा बाहिर गएर नगरपालिकाले हस्तक्षेप गरेको बताइएको छ । विज्ञप्तीमा यस्ता कार्यहरुलाई तत्काल सुधार नगरेमा संविधानमा व्यवस्था भएको टे«ड युनियन अधिकारको प्रयोग गर्दै आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
प्रतिक्रिया दिनुहोस