धादिङ ११ माघ
माघ ९ गते देखि सुरु भएको न्यु किबो बोर्डिङ स्कुलको खेलकुद सप्ताह बुधबार सकिएको छ । विभिन्न खेलका विजेताहरुलाई ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेसंगै खेलकुद सप्ताह सकिएको हो ।
खेलकुद उत्सवमा फुटबल, भलिबल, म्याराथुन, कबड्डी, ज्याब्लिङ थ्रो लगायत ६५ वटा खेलहरु समावेश गरिएको विद्यालयका शिक्षक सिताराम महतले जानकारी दिनुभयो । खेलकुद प्रतियोगितामा १ हजार १५५ अंकका साथ रातो सदन शीर्ष स्थानमा रहेको छ भने ९२० अंक सहित निलो सदन दोस्रो र ९०० अंक सहित पहेलो सदन तेस्रो भएको छ ।
यस्तै महिला शिक्षिकाहरुको फुटबलमा चण्डीका अधिकारी नेतृत्वको समुह प्रथम भएको छ भने पुरुष शिक्षकहरु बीचको फुटबलमा प्रिन्सिपल प्रयास रेग्मीको समुह प्रथम भएको छ । त्यसैगरी अभिभावकहरुको म्यूजिकल चियर प्रतियोगितामा जुना खत्री प्रथम, राजेन्द्र लम्साल द्धितीय र भोज बहादुर रेग्मी तृतीय हुनुभएको छ ।
खेलाडीहरुलाइ पुरस्कार वितरण गर्नुहुदै जिल्ला खेलकुद विकास समिती धादिङका अध्यक्ष प्रताप सिंह तामाङले विद्यालयहरुमा आयोजना हुने यस्ता खाले खेलकुद कार्यक्रमहरुले लुकेर रहेको प्रतिभाहरुलाई उजारगर गर्न सहयोग पुग्ने हुनाले हरेक विद्यालयहरुले एउटा निश्चित समयमा खेलकुदका कार्यक्रमहरु अनिवार्य रुपमा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम समापन गर्नुहुर्दै विद्यालयका प्रिन्सिपल एवम् कार्यक्रमका सभापति प्रयास रेग्मीले बिजेता सबै बिद्यार्थीहरुलाइ बधाई र धन्यवाद दिनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिती धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने शिक्षा विकास तथा समन्वय इकाइ धादिङका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत विद्यार्थी शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस