सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीसहितका कर्मचारीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको हो ।
बाग्लुङमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रुपमा कार्यरत रमेश ढकाललाई गृह मन्त्रालयले धादिङ सरुवा गरेको छ भने २०७८ आश्विन १ गते देखि धादिङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा काम गरेका कृष्णप्रसाद लम्साल नवलपरासी सरुवा भएका छन् ।
यस्तै कालिकोटमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रुपमा रहेका रामहरि शर्मा सहायक सीडीओका रुपमा धादिङ सरुवा भएका छन् भने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहन कुमार थापा प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रुपमा मुगु सरुवा भएका छन् ।
राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि ल्याएको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीको सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस