धादिङ ०८ भाद्र
धादिङबेसीमा आइतबार राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अन्तरकृया तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । ४ वर्षभित्र राज्यका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुरुप अगाडि बढेको नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार धादिङबेसीमा जिल्लास्थित सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सुवास ढकालले राष्ट्रिय परिचयपत्रका फाइदाहरु, यसको उपयोगिता, प्रयोग गर्ने तरिका, यसको विश्वसनियता जस्ता विषयमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए । १० अङ्कको युनिक नम्बर प्रदान गरिने राष्ट्रिय परिचयपत्रमा हरेक व्यक्तिको वैयक्तिक तथा जैविक विवरणहरु समावेश गरिने भएकाले एकै व्यक्ति दोहोरिने सम्भावना नहुने, राज्यले एकचोटी विवरण सङ्कलन गरिसकेपछि अन्य सरकारी निकायहरुले विवरण सङ्कलन गर्ने झन्झटबाट मुक्त हुने जस्ता विशेषताहरु रहेका छन् । पाचथर र सिंहदरबारबाट एकैसाथ सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण कार्यक्रममा हालसम्म १ लाख कार्ड छापिएको तथा ८० हजार कार्डहरु वितरण भइसकेका छन् ।
हाल १५ जिल्लामा वितरण कार्य सुरु गरिएको छ । कार्यक्रमका सहभागीहरुले अस्थायी रुपमा अर्को जिल्लामा बसोबास गर्दै आएका नागरिकहरु, विदेशमा बसोबास गर्ने नागरिकहरु र अपाङ्ग अशक्त व्यक्तिहरुलाई समेत राष्ट्रिय परिचयपत्रले समेट्नुपर्ने जिज्ञासा राखेका थिए । नागरिकता प्राप्त गरेका तथा नागरिकता प्राप्त गर्न योग्य नागरिकहरुलाई हाल परिचयपत्र वितरण गरिने बताइएको हो । भारत, पाकिस्तान, मलेसिया, स्टोनिया लगायत विश्वका १०० मुलुकहरुले राष्ट्रिय परिचयपत्रको प्रयोग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस