त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए ।
स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी सङ्गठनका अध्यक्षको बैठक बोलाइएको छ । निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकोले विद्यार्थी सङ्गठनसँग छलफल गरिने बताए ।
त्रिविले स्ववियु निर्वाचन गर्न पटक पटक पहल गरे पनि हुन सकेको छैन । विद्यार्थी सङ्गठनले फागुन २८ गते सहमति गरे भने विद्यार्थी कल्याण परिषद बैठकले मिति तोक्नका लागि त्रिवि कार्यकारी परिषदमा सिफारिस गर्नेछ । त्यसपछि त्रिविको कार्यकारी परिषदको बैठकले स्ववियु निर्वाचनको मिति घोषणा र स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने उनले जानकारी दिए ।
त्रिविका क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो ।
त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस ९आरआर०, जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।
यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आंशिक रुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस