धादिङ ०६ पुस
आठौँ धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने हुनुभएको छ । पुष ७ गतेदेखि १७गते सम्म चल्ने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको धादिङका उद्योग बाणिज्य संघका अध्यक्षएवं महोत्सवमुल समारोह समितिका संयोजक विष्णु थपलियाले बताउनुभयो ।
संघको प्रतिनिधि मण्डलको टोलीले पाण्डेलाइ भेटेर प्रमुख अतिथिको निमन्त्रणा पत्रदिएको थियो । महोत्सवको उद्घाटन पुष ७ गते अपरान्ह १२ बजे गर्ने कार्यक्रम तय भएको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषिजलस्रोत पर्यटन र उद्योगको पुर्वाधानभन्ने मुल नाराको साथधादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव हुदैछ ।
उद्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाथ देखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृतिसम्मलाई समेटेर झाँकी तथा शोभायात्रा निकालिने महोत्सव मुलआयोजक समितिले जानकारी दिएको छ ।
धादिङ महोत्सव मुलआयोजक समितिले महोत्सव अवधिभर रक्तदान तथा रक्त समुह परीक्षण कार्यक्रम पनि गर्ने भएको छ ।
महोत्सव स्थलमा मान्छेहरुको भीडभाड रहने र रक्तदान गर्ने मान्छेहरु धेरै रहने भएकाले रगतको अभावलाई मध्यनजर गर्दै महोत्सव अवधिभर नै रक्तदान कार्यक्रम राखिएको धादिङ उद्योग बाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम संगै निशुल्क रक्त समुह परीक्षण तथा सुगर र प्रेसरको पनि परिक्षण गरिने सिंखडाले जानकारी दिनुभयो । ‘महोत्सव अवलोकन गर्नेहरुलाइ लक्षित गरेर सुगर प्रेसर परीक्षण कार्यक्रम पनि हुन्छ ।’ सिंखडाले भने, ‘कतिपय ब्यक्तिहरुको रक्त समुह थाहा पाएकै हुन्न, त्यसैलाई मध्यनजर गरेर महोत्सव अवलोकन कर्ताहरु जसलाइ आफ्नो रक्तसमुह थाहा छैन, उसको रक्त समुहपनी छुट्याउने ब्यवस्था मिलाएका छौँ ।’ परीक्षणको कार्यक्रमलाई ब्यवस्थित बनाउन स्वास्थ्य परीक्षण स्टल नै राख्ने तयारी गरेको सिंखडाले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको समन्वय गर्ने र महोत्सव मुल आयोजक समितिले रक्त समुह परीक्षण, रक्तदान तथा सुगर प्रेसर परीक्षणको कार्यक्रमको ब्यवस्थापन गर्ने तय भएको मुलआयोजक समितिका संयोजक एवं धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु बहादुर थपलियाले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि उत्पादन स्टल, डेरी स्टल, इलेक्ट्रोनिक्स/सुचनाप्रविधी स्टल, विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनी एवं विक्रिका स्टल, स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि स्टल तथा स्थानीय तहको उत्पादनको स्टल गरी १ सय २० भन्दा बढी स्टल रहने वाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो ।
धादिङ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवमा १० करोड भन्दा वढीको कारोवार हुने र ३ लाख भन्दा बढीले हेर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस